Monday, March 28, 2016

लघुकथा : ८ हफ्ता पछी

~आविष्कार भारती~

"हैन हौ बिरे कता हिंडिस्, यस्तो हतारिएर ? गुट्मुन्टेलास् है ओरालाँ ", सुन्तले काकाले बिरे हतारिएर बेसी झर्न लागेको देखेर सोधी गए ।

"काका नि कस्तो के, झन बाहिर हिंड्दा नसोध्नु भन्छन् । तपाईं चै प्वाक्क सोधी हाल्नु हुन्छ । साइत हुन्न रे के ।", बिरे आफूले बुझेको वृद्ध सुन्तले काकालाई सुनाइ हाल्छ ।

" त्यस्तो केही हुन्न । भन त कता हुईँक्याहोस् ?", आफ्नो प्रश्नको उत्तर खोतल्न खोज्छन् ।

"बेसी'याँ रेड करस आ'का छन् रे के काका । अनी अगी ब्यान माख्ला घरे माइलोले नि भन्दैथ्यो
तिन्ले रक्तदान कार्यक्रम गर्न ला'छन् रे । अनी म नि रगत दान गरुम कि भनेर हिँड्या । फेरी तिनिहरु हिँड्लान भनेर उँधो झर्नला'थेँ ।", बेलिबिस्तार लाउँछ बिरे ।

"धेत्, आफ्नो शरीरको रगत नि दिनु ? अनी रगत द्यो भने त पण्डित बाजेले भनेको घोर नरकमा परीन्छ रे । अनी अस्ती तिन्ले पुराण कथा भन्दा भनेका हैनन् शहरबाट रगत लिन आउँदा रोग सारीदिएर जान्छन् रे । अब रगत नि लिन्छन् , पाप नि बोकाउँछन् अनी रोग नि बोकाउँछन् रेन्त, गाँठे, ति रेड करसेहरुले ।", आफूले सम्झेसम्मको, बुझेसम्मको कुरो ठिटो बिरेलाई सम्झाउन खोज्छन् सुन्तले काका ।

" रक्तदान यस्तो दान हो जस्लाई गरीबले पनि दिन सक्छ र धनीले पनि लिन सक्छ । जब सम्म जिवित हुन्छौं रक्तदान गर्नपर्छ अनी मृत्युपश्च्यात आफ्नो अङ्ग दान गर्नपर्छ काका । यो एउटा पुण्य कर्म हो नि । अस्ती मेरी जहान सितली अस्पातलमा सुत्केरी हुँदा रगत नपुगेर अरुको रगत द्या हो कि हैन भन्नु त काका । अनी त्यो दिएको रगत यस्सै त आउँदैन होला कि कसो ? लु काका म भरे फर्कँदा पुरै कुरो गरम्ला । अहिले झरेँ । ", बिरे नमस्ते ठोकेर हिंड्न खोज्दै थियो, काकाले सोधिहाले "तेरो जिउलाई रगत दे'सी गाह्रो हुन्न त ? अनी तेरै गाथलाई रगत चाहियो भने ? "

बिरे भन्छ," काका नि हँसाउन हुन्छ , रगत सप्पै निकाल्छन र ? ल ल म हिँडे ।"

पर डिलमा बसेर सुनिरहेको केशु सुनार पनि भन्छ, "बिरे दाइ, मैले नि दिन हुन्छ - रगत ? मलाई नि साथै लग्नुस् न । "

"ल ल चँडो गर् " , बिरे भन्छ ।

"दलितको रगत नि लिन्छन् ? त्यो रगत कस्लाई दिने लौ ? सिध्याए यिनले धर्म - जात सप्पै । हे पर्भु रक्ष गर । " , काका फत्फताउँदै आफ्नो पिंडी उक्लन्छन् । केशु अलिक हच्किन्छ । तर बिरे भन्छ , "रगत म नाम लेख्या हुन्छ र ! मान्छेको रगतमा दलित लेख्या हुन्न क्यारे । लु लु हिंड झट्ट ।"

केशु र बिरे बेसी झरेर रक्तदान गर्न कुरिरहँदा सियो देखेर अलिकती झस्कान्छन् तर पनि रक्तदान गर्छन् । फ्रुटी र एउटा अन्डा खान्छन अनी सोध्छन अब हम्ले अर्को पल्ट कहिले रगत दिन हुन्छ । उत्तर आउँछ, "८ हफ्त पछी" । 

- आविष्कार भारती

No comments: