Monday, April 20, 2020

कविता : अन्ध समय

कविता : अन्ध समय
~आविष्कार

अन्ध समय 
बहिरा समाज बिच
कोहिको अनि
केहीको मुक चित्कार छ ।
पस्किने, झस्किने, खस्किने
होड छ,
निदाएको नाटक गर्नेहरुको
कोढ छ ।

घर भनेको घरले ओत खोसे पछि
एक पोको सुख्खा संवेदना पोसे पछि
रोईरहेको आत्मसम्मान ढाकेर तस्विरमा ङिच्चिदिन्छिन्  
सगर ठानेको शहरको हरहर बास्नामा घिटिघिटी
हुँदै
"आमा भोक लाग्यो"को अमेट्य गीतमा
रित्तिंदै गरेको भान्छाको डाडुपन्यु बजाउँछिन्
नदि त तरियो समुद्र छिचोल्नु छको निस्वास छड्छिन् ।
भोक भन्दामाथि
मखमलमा धस्सिएर 
वादमा रिङ्गिदै अपबाद बनेका
नवमाली सुदूर सपनाका उद्यानमा 
फूलको सुकोमल करकमलबाट 
सरर तरर सुराधारामा निर्लिप्त भएर
व्यञ्जनहरूमा पुरिएर
हुकुम गर्नु हुन्छ
"हामी सहनको लागि जन्मेका हौं 
यसको उता सौम्य शितल्ता छ
भित्रै बस, भित्रै खोज, 
नत्र...."
पेटको आगोको अट्टाहास बिच
सुख्खा लाम्टा चुसाउँदै
कथामा भुलाउँदै
एउटि आमा निरीह आँखा भरि
अदृश्य प्रश्नका सुख्खा सातु फाँको मार्दै
रातारात 
निसास्सिएको, थुन्निएको 
मानव्ताहीन मानव बस्तीबाट 
उहि हेपिएको, चेपिएको, बल्ल बल्ल खेपिएको
वाल्ल परेको गाउँको लागि हिंड्छे ।

नजिक आए सर्ने, 
के के नगर्ने अनि के के गर्ने 
मोबाईल बाटै सिकेर
निरस कैदमा भोकको दहन भन्दा
खिल्लिएको स्वतन्त्रतामा रोग बहन गर्ने आँट गर्छे
रोगै रोग बाट थल्लिएका 
आफूलाई थुनेर राखेका
निकृष्ट, भ्रष्ट, अवसरबादि
 स्व थानेदारहरूलाई
कैद पूर्जी फिर्ता थमाएर
मनमा उसैको डेरा अगाडि पल्टिरहने 
कुकुरको भोक सम्झि दया छछल्काउँदै 
भाईरस भन्दा ता हाम्रा नेता जाती यति सस्ती त दिन्नन् फत्फताउँदै
अन्धकारमा बिलिन हुन्छे ।

No comments: