जिन्दगीमा अधुरो छ केही
भविष्यमा अपुरो छ केही
जती बतास छेके पनि दियो यो
कुनौटोमा मधुरो छ केही ।
सामन्तलाई मात दिएर सामन्त बने
कर्तव्यलाई घात दिएर महन्त बने
निमुखा जङ्घारमा दुब्दै गर्दा खेरी
लर्बरिएको बात दिएर आफन्त बने ।
तिम्रो पूरानो त्यही बानी
जे गर्दा पनि आनाकानी
आशाको बल्छीमा फँसाएर
समात्दैछौ माछा छानीछानी ।
मुक्तक :
भ्रम पाल्न कती कुशल हामी
सम्पूर्णताको खुद्रा पसल हामी
उचाईमा पुगेर झर्छु कि लड्छु डराउँदै
मसाने बैरग्य प्रेरित असल हामी ।
मायामा माया भए पुग्छ, साथ जरूरी कहाँ छ र
अनाम साथहरूलाई नामका गाथ जरूरी कहाँ छ र
बाँच्ने आचार सदर गर्न लागि परेकाछन् पक्षपातीहरू अचेल
प्रितको मातमा झुल्नेहरूलाई नाथ जरूरी कहाँ छ र ।
अहम लिएरै जिन्दगी पिउँछ मान्छे
उधार्दै अरुलाई आफू सिउँछ मान्छे
युगपुरुषहरु पनि त मुक्त छैनन् अहम् बाट
दियो वाह्य जगाई आल्हादित जिउँछ मान्छे ।