Friday, April 24, 2020

मुक्तक : अधुरो

मुक्तक :
जिन्दगीमा अधुरो छ केही
भविष्यमा अपुरो छ केही
जती बतास छेके पनि दियो यो
कुनौटोमा मधुरो छ केही ।

Monday, April 20, 2020

कविता : अन्ध समय

कविता : अन्ध समय
~आविष्कार

अन्ध समय 
बहिरा समाज बिच
कोहिको अनि
केहीको मुक चित्कार छ ।
पस्किने, झस्किने, खस्किने
होड छ,
निदाएको नाटक गर्नेहरुको
कोढ छ ।

Saturday, March 7, 2020

केही सेन्र्यु / हाईकु

बिभिषण छन्
आफ्नै घर ध्वस्त भो
खुशी कस्तो यो ? 
------------------
आकाशगङ्गा
रङ्ग फेरि रहन्छ
अतल भोक ।
-------------------
नुनिलो पानी
छ समुद्रीक भोक 
अज्ञानि माझि
------------------
आड भरोसा
अनुरक्त लिस्नो छ
माध्यम एक
-------------------
अपूर्ण जोहो 
प्रतिक्षामा बगर
अमेट्य प्यास।
------------
पर्दामा सबै
जोडिएको संसार
भिन्न छु भन्छन्
------------------

Friday, March 6, 2020

मुक्तक : सस्तो म

तिमीलाई माया गर्छु भन्दा प्याज खाछौ भन्छौ
तिमीसँग प्रित जोड्छु भन्दा ब्याज लाछौ भन्छौ
प्याज नि महङ्गो ब्याज नि महङ्गो, सस्तो मै भा रछु 
तिमीमै मात्र हराउँछु भन्दा र्‍याग्ज भाछौ भन्छौ । 

Wednesday, February 26, 2020

मुक्तक : आफन्त

 सामन्तलाई मात दिएर सामन्त बने
कर्तव्यलाई घात दिएर महन्त बने
निमुखा जङ्घारमा दुब्दै गर्दा खेरी
लर्बरिएको बात दिएर आफन्त बने ।

Monday, February 24, 2020

मुक्तक : बल्छी

 तिम्रो पूरानो त्यही बानी
जे गर्दा पनि आनाकानी
आशाको बल्छीमा फँसाएर
समात्दैछौ माछा छानीछानी ।

मुक्तक : असल हामी

 मुक्तक :
भ्रम पाल्न कती कुशल हामी
सम्पूर्णताको खुद्रा पसल हामी
उचाईमा पुगेर झर्छु कि लड्छु डराउँदै
मसाने बैरग्य प्रेरित असल हामी ।

Tuesday, January 14, 2020

मुक्तक : धर्म

 टाडिएको छु म
बाँडिएको छु म
कर्मको धर्म पुरा गर्दा अधुरै
छाडिएको छु म ।

Wednesday, January 8, 2020

मुक्तक :

 मायामा माया भए पुग्छ, साथ जरूरी कहाँ छ र
अनाम साथहरूलाई नामका गाथ जरूरी कहाँ छ र
बाँच्ने आचार सदर गर्न लागि परेकाछन् पक्षपातीहरू अचेल
प्रितको मातमा झुल्नेहरूलाई नाथ जरूरी कहाँ छ र ।

Thursday, December 5, 2019

मुक्तक :

 अहम लिएरै जिन्दगी पिउँछ मान्छे  
उधार्दै अरुलाई आफू सिउँछ मान्छे  
युगपुरुषहरु पनि त मुक्त छैनन् अहम् बाट     
दियो वाह्य जगाई आल्हादित जिउँछ मान्छे ।