Saturday, January 31, 2015

लघुकथा : पाप

लघुकथा : पाप
~आविष्कार भारती~
 
"आमा राम कस्ता थिए ?"

"तैंले रामायन हेरिस नि टिभीमा, देखिस नि हैन त्याँ राम हो तेस्ताइ छन् राम । "
"आमा कृष्ण कस्ता थिए ?"
"तैंले महाभारत हेरिन नि टिभीमा, देखिस त त्याँ कृष्ण कस्त थिए हो तेस्ताइ छन् कृष्ण ।"
"आमा शिवले साच्चिकै त्यो चलिराख्ने सर्प कै माला लगाइसिन्छ हो ?"
"हो त नि अस्ती तैले टिभीमा हेरेको हैन 'ॐ नम सिबाये' तेस्मा जस्तै त छन् शिव जि , सर्प नि चलिराख्य थ्यो नि हगी त्याँ ।"
"आमा पार्वती नि कस्ती राम्री होइसिन्थ्यो नि हगी त्यो ॐ नम सिबायेमा, उहाँ शिव भग्बानको wife हो ?"
"हो" , आमा ले भनिन ।
"आमा त्यस्तो राम्री पार्वतीले त्यस्तो सर्प लगाउने शिव भगवानसँग किन ब्या गर्या होला हगी ?"
"त्यस्तो भन्नु छैन नानी पाप लाग्छ । पाप लाग्यो भने जिन्दगी बर्बाद हुन्छ बुझिस् । भगबान रिसाइसिन्छ, अनी कहिले केही नि पाईंदैन जिन्दगीमा बुझिस । ", आमाले छोरी औँला ठड्याउँदै भन्नु भयो ।
"बालसुलभ जिज्ञाषाको यस्तो "पाप"को अनी भूतको डर देखाइ बालमनोबिज्ञान खल्बलाउन त नहुने आमा", पछाडिबाट सबै कुरा सुनिरहेको सुबोधले आमालाई सम्झाउँछ ।
"भो नभन ! डर नदेखाको भए तँ आज जे छस् त्यो हुन्थिस् होला नि हैन ?", आमा ओठ लेब्र्याउँछिन ।
 
लघुकथा : पाप 
-2015-1-31
(Published in MOLUNG LAGHUKATHA SANGGRAHA - Falgun 2073)

No comments: