Tuesday, December 29, 2015

लघुकथा : झूट

"हैन हौ दिनमान दाइ के हो के तपाईं त, एस्सो फोन गरेसी उठाईदिए - हामी सँग एक दुई वचन बोलिदिये त हामी नि गती पर्थ्यौँ नि , के सारो हेप्या त यार हाम्लाई ।", दिप्तेशले एक्कै सासमा आफ्नो मनको आवेग पोख्छ ।
 
"आमामामा ! के सारो पड्केको दिपुभाइ - जस्ताको छताँ असिना बर्स्याजस्तो पो ला'गो गाँठे । कहिले फोन गर्या थ्यौ र ?", फरासिला, हँसिला दिनमान जिस्क्याउँदै थाहा पाएर नि नपाए सरी दिप्तेशलाई घोच्छन् ।
 
"हिजो-मंगलवार नि गर्या हो, अघिल्लो हफ्ता नि मंगलवार नै गर्या हो । किन नउठाउनु भा'को भन्नु त ? ल हेर्नुस् यो कल गरेको लग ल ", दिप्तेश आफ्नो दाइले अम्रिकाबाट भर्खर रुखबाट टिपेर पठाएको आई-फोन-६ देखाउँदै आफूलाई सहि देखाउने कोशीश गर्छ ।
 
"टैत ! दिपुभाइ पनि ! मंगलवाराँ नि फोन गर्ने हो त । अरु दिन गर न । उठाईहाल्छु नि", दिनमान दिप्तेशलाई सम्झाउँदै भन्छन् ।
 
"मंगलवार भएर के भो त ?", छक्क पर्दै सोध्छ दिप्तेश अनी फेरी अलिकती जिस्काउँदै थप्छ, "भाउजूले फोन-सोन लुकाइदिनु हुन्छ कि क्या हो, मंगलवार-मंगलवार ?", अनी ठूलो अट्टाहाससंगै रावण हाँसो हाँस्छ ।
 
"ह्याँ, मंगलवार मेरो ब्रत हुन्छ क्या अनि आमाले ब्रतको दिन झूट नबोल्नु भन्या छिन् - अब फोन उठाएसी आफ्नो गफ तेस्तै हो, झूट खुस्की हाल्छ । ब्रतमा झूट बोल्नु भन्दा त  फोन नै नउठायो कुरै खल्लस् , हे हे हे हे , कि कसो ?"
 
कुरो सुनेर दिप्तेश ट्वाँ ....
 
- आ'विष'

No comments: