Tuesday, January 26, 2016

लघुकथा: मपाईंत्वको महिमा


लघुकथा: मपाईंत्वको महिमा

- आविष्कार भारती 

सम्पूर्ण चराजातीको बिशेष कलियुगे बैठक बसेछ । बैठक सुरु हुने बित्तिकै, टेबलमा पखेटा बजार्दै "हैन हामीले चाँही नपाउने त्यो कागले यात्रो ठूलो महाचरी पुरस्कार कसरी पायो ?" भन्दै हो हल्ला सुरु भएछ ।

अनी चराहरुका राजा जटायु अर्थात गिद्दले सोधेछन् ," कुरो के हो खुलेर भन्नुस् न ?"

चराहरुको असन्तुष्ट पक्षका नेता, कुखुराले कुरो खोलेछन, "महाध्यानी बकुल्ला, समयको पक्का कुखुरोको भाले - यानकी म स्वयम्, सुमधुर आवाज कि धनी कोइली, विश्वसुन्दरी मजुर, हल्लागिरी गौंथली, चतुरे भङ्गेरा, धावक अस्ट्रिच, फेशन गरिहिंड्ने जुरेली, हँसिलो हाँस , सल्लाहकार परेवा, सन्यासी धनुषे, रुन्चे न्याउली, पत्रकार सारौ, सोझो ढुकुर हुँदाहुंदै त्यो काग ले कसरी पायो त्यो पुरस्कार ? लु महाराज प्रस्ट्याईयोस् । "

तब गिद्द महाराजले भेद खोले,"मान्छेहरुका जातीमा देखेको छैन, जस्ले म, म, म गर्छ तेस्ले पाउँछ पुरस्कार। काम गरोस् नगरोस् यस्सै हमलै नगरि हमला गरेका भरमा पत्रकार पुरस्कार पाईराछन् । राहत बाँड्ने भनेर केही गरेको होस् य नहोस् फेस्बुकमा तस्बिर पोस्टेकै भरमा सम्मान पाकै छन् ।  हो कि हैन ? त्यसैले कागले आफ्नो नाम जपेर संसार घुम्छ र त कागको पूजा हुन्छ एवम् कागलाई यमको दूत भनिन्छ  । त्यसैले सम्मानित कागलाई पनि यो पुरस्कार प्रदान गरिएको हो । बुझ्नु भयो हैन ? "

उत्तर सुनेर निरुत्तर सम्पूर्ण बुझेंको टाउको हल्लाईका साथ बैठकबाट निस्किएछन् ।


No comments: