Tuesday, August 2, 2016

लघुकथा : लर्कन

~आविष्कार भारती~

"दुई घण्टा भईसक्यो कुरेको, भेट्न पाको हैन। के सारो व्यास्त भा'को होला उहाँ ? के गर्दै हुनुहुन्छ ? भन्दिनुस् न बाहिर मान्छे कुरी रहेका छन् भनेर । मात्र एउटा पाण्डुलिपी बुझाउने काम मात्र हो मेरो । धेरै समय लाग्दैन के ", धेरै बेरको कुराईले व्यग्र हुँदै नवकवी जन्तरे हतासिँदै निमोठीएर भन्छ ।

पिउनले प्रश्न तेस्सायो , "तपैं 'चाकडी साहित्यिक समाज' या 'जबर्जस्ती साहित्य महासंघ' मा आबद्ध हुनुहुन्छ ? "

निराश आँखाले हेर्दै जन्तरे भन्छ, "छैन"

पिउनले फेरी सोध्यो "तपै 'वाह वाह साहित्यिक टोली'को सदस्य हो ? "

फेरी पनि लामो सुस्केरा हाल्दै जन्तरेले सुसायो,"हैन"

"लौ त्यसो भए, तपैं पक्कै पनि महान व वरीष्ठ रचनाकार एवम् पत्रकार टपरिराम हल्लागिरीको त पक्कै पच्च्यौटे होला नै हैन त ?" पिउनले हेयको नजले हेर्दै जन्तरेलाई भन्यो ।

करुण मुद्रामा जन्तरे अक्क न बक्कको स्थितीमा रहेर भन्यो,"हैन हजुर म त्यो नि हैन"

"अनी कसैको पछी नि लाग्या छैन त तपाईं ? कुनै पनि गुटको नि हैन त तपाईं ? कुनै नेता या पर्टी बिशेषको मान्छे पो हुनुहुन्छ कि ?", पिउनले अलिक सतर्क हुँदै सोध्यो ।

"अहँ ! छैन पछी लाग्या अनी हैन म कसैको मान्छे । म बस् एउटा साधारण कलमजिवी जो आफ्नो पहिलो पाण्डुलिपी लिएर प्रकाशन हुन्छ कि भनेर आशा, अभिलाषा लिएर आएको हुँ । के जाबो १० मिनेटको समयको लागि पनि मेरो अगाडि चाकडी या सम्बन्धनको लर्कन झुण्ड्याएर आउन पर्ने ? ", अलिकती उच्च आवाजमा जन्तरे चर्कियो, उस्को मुटुमा चर्किएको बेगलाई थाम्नै नसकी ।

एस्सो ढोका भित्र चिहाए जस्तो मात्र गरेर पिउनले मुखै फोरेर, हेपेरै अनी रिसाएकै भावमा भन्यो, " लौ भयो कल्याण तेसो भए । जानुस् अलिक समय पछी आउनुस् आज उहाँ तपैंलाई भेट्न भ्याउन हुन्न रे । तपाईंको लेख हो कि के जाती यहीँ छोड्नुस् है फेरी । पछी हेर्नुहुन्छ रे उहाँले ।"

ढोकाबाट निस्कदै गर्दा पिउनले सानो आवाजमा अर्को टेबलमा बसेका मान्छेसँग भनेको उस्ले पनि सुन्यो," उहाँलाई मन परे त्यो लेख रचना पण्डुलिपी जे हो त्यो अवश्य छाप्दिनु हुन्छ वहाँले तर उहाँको नाममा कि कसो टेबलपर्साद जि ! हा हा हा हा "
 
(Published in MOLUNG LAGHUKATHA SANGGRAHA - Falgun 2073)

No comments: