Thursday, August 25, 2016

लघुकथा : राम्रो अस्पताल

~आविष्कार भारती~

टाउको कन्याउँदै भन्यो उस्ले, "हो हो हजुर म बिष्णु नै बोलेको हो । हजुर को बोल्नु भाको होला ?"

नचिने पनि चिने जसरी भन्यो, "ए ! ए ! हजुर ।"

"हो के हो भर्खर यहीँ चोकमा दुर्घटना भा'को हो । तपाईं को हो र ?" ,भन्दै, "ए त्यहाँ पछाडि नरुनुस् त, एक त नेट्वर्क भएर केही सुन्या छैन ह्याँ ।"


मोबाइल फोनबाट प्रश्नको बौछारले झिजो मान्दै उत्तर दियो, "हो हजुर, मैले ल्याइराको छु काठमाण्डौ ।"

"त्यहाँ ल्याए बापत मलाई कती मिल्छ होला ?", मौकामा जाल थापीहाल्यो उस्ले ।

"ह्याँ, तेतीमा त तपाईं कहाँ ल्याउदिन म । ह्वाँ, ब्रन्डी अस्पातलले त्यो भन्दा धेरै दि'राछ । अलिक बढाउने भए तपाईं कै अस्पातलमा ल्याउथें ।", उताबाट सन्तोषजनक उत्तर नआए पछी मोलमोलाईमा उत्र्यो ऊ ।

"केस कस्तो छ रे ? अलिक जटिल नै छ के केस । केससँग झार्न सकिन्छ के तपाईंहरुले जती पनि, मलाई पनि त मह चाट्न पाउन पर्‍यो नि कि कसो ?", उसले अस्पातललाई लोभ्यायो र हथौडा ठ्याक्क ठाउँमा लाग्ने गरी हान्यो अनी लाग्यो पनि।

अनी दङ्ग पर्दै भन्यो, "ल हजुर ल, तपाईं कै अस्पातल तिर सोझ्याएँ मैले एम्बुलेन्स । हामी २ घण्टामा त्यहाँ पुग्छौं । ठीक्क पर्नु र पार्नु होला है। " , पछाडि फर्केर बिरामीका आफन्तलाई ठूलो स्वरमा सान्त्वना दिंदै भन्यो, "राम्रो अस्पातल सँग कुरा भा'छ, त्यतै लग्दै छु । चिन्ता नलिनुस् , उहाँलाई केही हुन्न । "
 
(Published in MOLUNG LAGHUKATHA SANGGRAHA - Falgun 2073)
(शब्दाङ्कुर २०९ - फाल्गुन २०७५ मा प्रकाशित) 
(Also recited in Radio Himalaya by me) 

No comments: