Tuesday, September 6, 2016

पुस्तक समीक्षा : हृदयबिदारक उपन्यास "सल्लिपिर"

~आविष्कार भारती~
 
एउटा यात्रा पूरा गरें, भौगोलिकरुपले बिकट तर सुन्दर एवम् संस्कृतिमा धनी नेपाल भित्र कै एक पSSरदेशको, नयनराज पाण्डे कृत् "सल्लीपिर" को बुई चढेर । यस यात्रामा उकालो चडियो, हिमाल पारी गईयो, नून बोकेर याकहरुको घाँटीमा झुण्डीएको घण्टीको तरङ्गहरुमा रम्दै श्याक्पा र छ्याङ खाँदै स्याब्रो नाच्दै गाउँ फर्कीइयो अनी "ॐ माने पद्मे हुँँ" मन्त्रको ध्वनी सँगै एक चित्त भएर नून चिया पिउँदै उपल्लो नेपालको सुरम्य प्रकृति र सोझा व मनकारी मान्छेहरुको साथ लागेर गुण तिर्ने याकहरुको पछी लाग्दै एक्कै क्षण मनभरी घुमेर आईयो ।
 
अनगिन्ती दु:खको महासागर छोचोल्दै सानो खुशीमा रम्दै जीवन बढाइरहेका उपल्लो नेपाली भू-भागको हृदयबिदारक कथाहरुको साङ्लो जस्तो लाग्यो "सल्लीपिर" । नयनराज पाण्डेको अन्य कथोपन्यास सरी यस उपन्यासमा बिभिन्न पात्रको माध्यमले कथा अघी बढ्छ तर "लु" या "उलार"को शैलीमा हैन  ।
 
शेर्पा जातीको संस्कार-संस्कृति, व्यथा, रहन्-सहन, जातक कथा, लोक कथा एवम् सङ्घर्षलाई बेजोड प्रवाहसँग जोडेका छन् तर कहीँ कहीँ चाँही अलिकती कथामा सुनाउन मात्र जब्बरजस्ती खाँदेका पो हुन कि जस्तो नि लाग्छ । नेपाली भू-भागको त्यो ठाऊँ जसलाई देखाएर पर्यटकलाई निम्तो दिइन्छ र त्यो खानि जहाँ अनगिन्ती सम्भावना छ देश बिकासको, यस्तो ठाउँलाई नेपाल खाल्डोबाट अपहेलना र पराइको व्यवहार बाहेक केही मिलेको छैन - यही कुरा लाई उपन्यासकार पाण्डेले एक्कै वाक्यमा बिसाईदिएका छन् - "काठमाण्डौलाइ बख्खुको गन्ध मन पर्दैन!" ।
 
बाल पेमा र फुर्वाको लोक कथाकै आधारमा देखिएका सपना र कल्पनाको मध्यमबाट उपल्लो भेगको बालमनोबिज्ञान राम्रो उजागर गरेका छन् भने पेमाको अनगिन्ती दु:खका बिच पनि सानो खुशीमा हाँस्न सक्ने, रम्न सक्ने क्षमतामा आँफै छक्क पर्ने खाल्को देखाएका छन् । छिरिङ्को र फुर्वाको ज्ञानको अपुरो भोक ; छिमी र डोल्माको समर्पण;  निमाहरुको आफ्नो जमिनको खोज; दावा, ग्याल्जेन, तेन्जीहरुको अथाह सङ्घर्ष र भावी सन्ततीको हँसिलो मुहार-जीवनको लागि सहेका सन्तापहरु; एवम् नेपाली जनयुद्ध, तरल राजनीतिमा पिसिएका साधारण जनताको सरल र सरस जनबोलीको मध्यमबाट आख्यानकार पाण्डे पोखिएका छन् ।
 
समग्रमा उपन्यासले एउटा अर्कै नेपाल देखाउँछ जुन काठमण्डौले देखेको नेपाल भन्दा निकै पर छ र छुट्टै छ । त्यहाँको मानव जीवन एउटा याकको भन्दा धेरै फरक छैन , पेट भर्ने र नूनतेलको जोहो मै व्यस्त छ । अन्धविश्वास, कल्पनिक कथाहरु, अज्ञानता र बिभिन्न समस्याहरुको परीबन्दले जकडिएको छ त्यहाँको जीवन भनी देखाउन यो उपन्यस सफल छ ।
 
मलाई खट्के को कुरो चैं बिच्च-बिच्चमा अलिक बढी जब्बरजस्ती तन्काईएको जस्तो लाग्छ उपन्यास र धेरै शब्द शेर्पा भाषी शब्द भएकोले अर्थ बुझिन्न तर त्यस्ले उपन्यासलाई अझै राम्रो बनाएको जस्तो महसुस गरें । त्रुटीहरु छन् यो आख्यानमा पनि जस्तै : मरिसकेकी छिमी फर्केर आउँछिन , पहिले त सपनामा पो फर्केकी हुन् कि भन्ने ठानेको थिएँ अरु सपनाहरु जस्तै तर त्यहाँ सपनाको कुनै कुरा नै आउँदैन तर पनि यो त कथा अघी बढीरहँदा ओझेल पर्न जान्छ किन कि पाण्डे ज्यूको लेखाइमा अर्कै सम्मोहन छ । 

अन्त्यमा, फुर्वा र पेमाको भेट भैदिए हुने जस्तो लागेको हो मलाई । साह्रै हृदयबिदारक उपन्यास । मेरो बिचारमा एक फेर पढ्नै पर्छ यो पुस्तक हो यो तर मागेर हैन किनेर नि फेरी ।
 
- २०१६-०९-०६

No comments: