Friday, December 7, 2018

लघुकथा : कोपिला

लघुकथा : कोपिला
~आविष्कार
 
"नटिप्नु हेर कोपिला नच्यात्नु पाप लाग्दछ... " दोह्राइ-तेह्राइ पढिरहेकी थिई ऊ । कण्ठ पार्ने काम रहेछ विद्यालयको शायद ।
 
म कोठामा छिर्नासाथ फरक्क फर्केर चम्किला आँखाले हेर्दै सोधी, "बाबा कोपिला टिप्दा, च्यात्दा किन पाप लाग्ने ?"
 
मैले स्वभाविक उत्तर दिएँ, "कोपिला कलिलो हुन्छ नि त, भर्खर फष्टाउन, फूल बन्न लागेको हुन्छ । अनी भर्खरको जीवन सुरु गरेर एउटा पूर्ण सुन्दर मनमोहक फूल बन्ने तयारी मा हुन्छ नि है ? अनी त्यस्तो राम्रो फूल हुन लागेको कुरोलाई च्यात्न, अझै नष्ट गर्न भो त भन त ? " अलिकती गहिरो कुरो पो भनेंकी झैं पनि लाग्यो मलाई ।
 
उस्ले एस्सो सोचेर बुझे झैं गरी र भनुँ कि नभनुँको भावमा सोधी, "अनी आजकाल बच्चाहरुलाई खै के के नराम्रो काम गरेर मार्छन रे नि है बाबा । त्यो पनि कोपिला टिपेर च्यातेको जस्तो हैन त भन्स्यो त बाबा ? तिनीहरुलाई पाप लाग्दैन हो ?" 
 
डिसेम्बर ७, २०१८ 
(Published in MADUS LAGHUKATHA SANGGRAHA - 2076)

No comments: