Sunday, November 25, 2018

कविता : रमिते

कविता : रमिते
~आविष्कार

सोधें तिमीलाई स्वतन्त्रता
मन पर्दैन ?
पराधिन भएर
चार भित्तो र छानोमा
कैद रहेर,
प्राणहीन,
जड्वत देखिएर
मृत शान्ती बोकेर 
अनुहारबाट कुटील आशा तपतप चुहाएर  
प्रत्यक पल दुखेसोको पहिरोमा पुरिएर
प्रत्यक क्षण प्रार्थनाको हिलोमा गाडीएर
प्रत्यक प्रहर लाखौं भजनमा बगेर
प्रत्यक युग अरबौंको पूजा सहेर
दङ्ग त छौ ?
कहीं भ्रष्ट त भएका छैनौ नि ?
पाप धर्म निष्ठा देखाएर
कहीं तिम्ले आफ्नो दुनो त सिझ्याएनौ नि ?
कोमल भावनाहरुको झ्याउरे गीत ताण्डव त गरेनौ नि ?
ऊ मृदुल स्वरमा अन्तहबाट सुँक्सुकायो
म पनि रमिते नै हो
तिमी जस्तै
हरेक तिमी भित्रबाट
आफ्नो अमूर्तताको मूर्ती नियाल्दै
खोज्दै छु मान्छे । 

No comments: