Friday, January 13, 2017

लघुकथा : बानी

लघुकथा : बानी
~आविष्कार भारती~

ऊ घरबाट सजिसजाउ भएर निस्किन्छे । हतार छ उस्लाई, "के गर्दा गर्दै ढिलो भएछ कुन्नी" मनमनै सोंच्छे । फुत्त एउटा ट्याक्सीमा चाड्छे र फलानो होटेल हिँड्नुस् भन्छे । साथीहरु एक हुल जम्मा भइसकेछन्, सँगै मिलेर हल्ला गर्दै - टन्न महङ्गा पक्वान खाँदै रमाइलो गर्छे । बिल आउँछ पर्सबाट फुत्त केही हात्ती निकाल्छे र बिलसँगै राखिदिन्छे । अनी पानीपुरी-चनाचट्पटेले मुखको स्वाद परिवर्तन गर्छे, फेरी पनि उही पैसा तिर्छे सबैको । साथीहरु दङ्ग पार्छे । एक छटाक तितौराको पैंतिस रुपैयाँ नि तिर्छे । तेही बेला एउटा एउटा भिखारीले हात फैलाएर, औँलाहरु जोडेर मुख अगाडि लाग्दै "खान देउ" को ईशारामा केही माग्छ । ऊ पर्स भित्र खोतल-खातल गर्छे अनी भिखारीलाई "जाउ जाउ" को ईशारा गर्छे र साथीहरुलाई भन्छे, "एक रुपैयाँ खोजेको दिउँ भनेर छैन रैछ मसँग त, के गर्नु ? अब माग्नेलाई बढी दियो भने धेरै माग्ने बानी लाग्छ ।"

No comments: