Tuesday, January 31, 2017

लघुकथा : लहर

~आविष्कार भारती
'वोई सुनिस् ! म सँग दामी अैइडिया छ । सुन्छस् ?' , सुरेन सोफामा अडेस लाग्दै ब्रिजेशलाई भन्द छ । ब्रिजेश एक मारवाडी पुत्र हो र सुरेन पूजारीपुत्र ।
'ह्या ! लास्ट टाइम पनि क्या दामी आईडिया भनेर पैसा डुबायो । यो पाली त कसरी पैसा माग्ने हो घरमा ।', पछील्लो ३ पटकको सुरेनको व्यापारको योजना नराम्रोसँग असफल भएर हतासिएर भन्यो ब्रिजेशले ।
'हैन के, यो आईडिया सोलिड छ । फुल्-प्रूफ् । सुन न', सुरेनले सम्झाउँदै भन्यो ।

'के हो ल भन त्यस्तो सोलिड फुल्-प्रुफ् आईडिया । सुन्दिउँ न त । नसुनी तैँले बस्न दिने हैन क्यारे ।' ब्रिजेश नचाहँदा नचाहँदै पनि सुन्न तयार भयो ।
'यो पाली हामी मिलेर अर्ज्ञानीक तरकारीको काम गरौं । तेस्को मार्केट पनि क्या धेरै छ रे । मेरा ४-५ जना साथीले नि प्लट भाडामा लिएर त्यही गरिराको छ । उनिहरुले नि मद्दत गर्छु भनेको छ । अहिलेको चलेको व्यापार त्यही हो के । के भन्छस ?' सुरेनले आफ्नो योजना एकसासमा सुनाएर प्रश्न तेर्सायो । तर ब्रिजेशलाई यो योजना खासै चित्त नबुझेको जस्तो लागेर अनी सुरेनले थप्यो,'ल ल मुख नबिगार । म सँग अर्को एउटा नि अाईडिया छ । ल सुन ! अहिले अर्को सबैभन्दा धेरै चलेको हस्पिटलको व्यापार खोलुम् । मान्छे भएपछी खाना खाइहाल्छन् , खाना खाएपछी बिरामी भइहाल्छन् अनी जाने कहाँ भन्दा हस्पिटल । अनी एक दुई जना नामी डाक्टरको नाम राखुम्ला, बाँकी यताउता मिलाउँला नि । त्यस्पछी त चलिहाल्यो नि व्यापार, हो कि हैन ल भन ?', सुरेनले आफ्नो योजना एकसासमा सुनाएर प्रश्न तेर्सायो । ब्रिजेशलाई पनि योजना मनपरेकोले अनुहार उज्यालो थियो । अनी कोठामै रहेको आफ्नो काकाको छोरा रुपेशलाई सोध्छ,'के भन्छस तँ ?'
 
रुपेशले दुबैको कुरा चुप्चाप सुनिरहेको थियो र ब्रिजेशले सोधे पछी भन्यो, 'आखिर जुन गरे पनि लहरै त हो । कहिले साईबर खोल्ने लहर, कहिले पूल क्लब खोल्ने लहर, त कहिले ९९ पसल खोल्ने लहर, अनी कहिले कन्सल्टेन्सी खोल्ने लहर, फाइनान्स खोल्ने लहर नि थियो, रेस्टुरेन्ट खोल्ने लहर पनि, र अब यो पनि त लहर र तिमीहरुको लहड त हो । अलिक केही नयाँ सोँच् न दुबै मिलेर ।'
 
सुरेन र ब्रिजेश वाल्ल परेर कुरा सुनी मात्र रहे ।

No comments: