Friday, February 1, 2019

लघुकथा : गुरुको सम्मन

लघुकथा : गुरुको सम्मन
~आविष्कार

हिजोआज ऊ बिस्तारै कक्षामा छिर्थी । डराएको भावमा यता उता हेर्थी । पछील्लो केही सप्ताहदेखी ऊ मौन रहन्छे ।

कसैले आँखाको कुनौटोबाट उसैलाई त हेरेको छैन ? बिकास किन मलाई हेरिरहेकोछ ? विश्वाश मलाई हेरेर किन खास्खुस गरेको होला ?

आफ्नो डेस्कमा पुग्छे भित्तापट्टी बस्छे अनी एकोहोरो घोरिन्छे घोत्लिन्छे । लाग्छ कुनै ठुलै कुरा बिष्लेषण गर्न लागेकीछे, लाग्छ केहीले कहीँ उस्लाई भित्री तवरले हल्लाईदिएकोछ, लाग्छ ऊ कहीँकतै केही हुन्छ कि भन्ने डरमा छे, लाग्छ ऊ - ऊमा छैन ।

"आज त स्तुतीको पालो हो नि डेस्कको छेउमा बस्ने, यो रोटेसन किन गराईराख्न पर्नेहोला", आफ्नो डेस्कमा ब्याग आफ्नो देब्रेतिर राखेर भित्ताको आड लिएर मनमनै आफुले सुन्ने गरेर भन्छे ।

"त्यो सरले किन हात त्यस्तारी कता-कता लगेको होला ? क्लासमा कसैले देख्यो कि ?", सिरिङ्ग हुन्छे । घोत्लिन्छे फेरी, " अम्बिकाले पनि त भनेकी थिई यो कुरा अस्तिन ब्रेकमा तर हामीलाई नपरी हामीले वास्ता गरेका थिएनौं । आदेश सरले त्यस्तो कदापी गर्नसक्नु हुन्न - हामीले भनेका थियौं"। तर रिनाले पनि थपेकी थिई,"तँलाई पनि त्यस्तो गर्‍यो ? त्यो पात्तेको बुढोले मलाई पनि अस्तिन रोटेसन हुँदा कुहिनोले घोच्न-छुन खोज्दै थियो अनी मैले त छेउमा ब्याग राखेर बसें।" । अर्को क्लासको साथीले पनि ,"तेरा त राताराता गाला भाका छन् ह्म् ?" भनेर ढाड पो सुम्सुम्याउन थाल्यो । अनी उस्ले नगरनुस् न भन्दा ,"के गर्या छु र ?"भनेर भन्केर पो गइरा रिस उठ्दो पातकी बुढो त" भन्थी ।

"केटाहरुले पनि थाह पाईसके यार !",रश्मीले जिब्रो काट्दै भनी ,"तर नथापाको जस्तो गरिराछन्, तिनिहरुले सपोर्ट गर्देपनी हुने नि है ?" अनी बिद्याले "कम्प्लेन गर न" भन्दा स्तुतीले "फेल पार्दिन्छ है" भनेर तर्साएकी थिई । "तर पछील्लो हप्ता मसँगै डेस्कमा बसेर म्याथ सिकाउँदै सरको त्यो स्पर्षले ममा उथलपुथल, कसैले देख्यो कि भन्ने लाज, डर, उलझन र धेरै रिस पैदा गरिदिएको थियो अनी के भएको हो नै बुझ्न सकेकी थिईन । आज पनि त्यस्तै गर्‍यो भने कम्प्लेन गर्छु ।", ऊ सोची रहेकीछे ।

स्तुती आई अनी डेस्कको छेउमा बसी, तेस्रो घण्टी आदेश सरको हो । पिरियड सुरु भयो, अनी सबैलाई क्लासवर्क दिएर सर अम्बिकाहरु बस्ने डेस्कमा गएर उस्लाई चलाउन थाल्नुभयो । विश्वाशहरु अर्को तर्फबाट खासखुस गर्दै थिए । 

अम्बिका जुरुक्क केही भए जसरी उठी र रातो भएर केही नभनी उभीई नै रही । हामी सबै फरक्क फर्केर आदेश सर र उसैलाई हेर्दै थियौं । अनी सर अगाडि गएर कक्षाकार्य जाँच्न थाल्नुभयो । बिद्या, म र अम्बिका ब्रेकमा प्रिन्सिपल सरको अफिसमा जाने निधो गर्यौ अनी गएर सबै भन्यौं तर उहाँले, "नकचरीहरु के नचाहिँदो आरोप लगाएको त्यस्तो पुरानो टिचरलाई । गुरुको सम्मन भनेको यही हो ? लाज लाग्दैन ? शरम छैन तिमीहरुको ? यो कुरा फेरी कसैसँग गर्ने हैन नत्र रेस्टिकेट होलाऊ ।" भनी झपारेर, तर्साएर कक्षामै फर्काईदिए । तिनैजना निराश, हतास यो साल कसरी कट्छ भनी कुरेर बसिरहे।

No comments: