Thursday, March 28, 2019

लघुकथा : हत्या

 लघुकथा : हत्या
~आविष्कार
 
रामकाईंली काकीले प्रफुल्ल मुद्रामा शानका साथ भन्नु भयो, "हाम्ले बोल्ने भाषा सरकारमा नि चल्दैन, इस्कुलमा नि चल्दैन । के गर्नु इस्कूलमा राम्रो नम्बर ल्याउ पर्छ, जssबो भाषाले गर्दा यस.यल.सि मा गुल्ट्यो भने फेरी ? त्यसैले हामीले त छोरीलाई हाम्रो भाषा सिकाएनौं हौ नानी । पछी चाहियो भने सिकीहाल्छे नि । होईन त माईली बजै ?"
 
जातो घुमाउँदै माईली बजैले थपिन,"हो नि काईली, पढ्ने-लेख्ने जे हो त्यै त पर्‍योग गर्ने हो नि । तेस्माथी नेपाली त राजाको भाषा होईन्त ? उताउँधी नेपालाँ नि त्यही भाषा चल्छ क्यारे ।"
 
काईंली काकीले पातमा घोचिरहेको सिन्का झैं चिरिक्क घोच्यो अनी मन रन्थन्नेर भुत्भुतायो "एक पींढीबाट अर्कोमा संस्कार संस्कृति हस्तान्त्रण गर्ने सेतु नै भाषा हो । त्यो नै नसिकाएपछी.....  के यो हत्या हैन र ?"
 
- 3/28/2019

No comments: