Monday, March 4, 2019

कविता : हेपाहा

कविता : हेपाहा
~आविष्कार

हिमालले पहाडलाई झुकेको देख्यो
पहाडले ढिस्कोलाई
ढिस्कोले सम्म भूमीलाई
सम्म भूमीकै धरातलमा
सम्पूर्ण उँचो उभिएकाछन्
भुलवश भुले तिन्ले
बात मार्दा ।
**
सम्म भूमी पनि कुरो गर्दा
घेच्रो तन्काएर
माथि पहाड-हिमाल तिर फर्किँदै
शिर ठाडो भएको दम्भ बोकी
सर्वेसर्वा उही हो, उहीँ हो
भन्ने भानमा, भानु झैं डुक्रिन्छ ।
**
सियो-धागो आफुलाई नछेडी
आफू सिलाईन्न भन्ने
अर्तीलाई दिमागमा भर्ती नगरि
फाटेका कपडा, आफूमात्र बडा सम्झन्छ ।
यसै माझ, बाझाबाझ
पुराना भाडा नतिरी नयाँँ भाडावाल खोज्दै
बसेको टोड्का काटेर, अर्कै रुखसँग माया साटेर
धरातल न धरा तल राम्रो हुन्छ, न धरा माथि
लाज छोप्न सियोधागोलाई लाजै नमानी कपडामा
फाटेका टल्न दिनुपर्छ । 
**
भोकलाई भो भन्दै,
एकअर्काको सफलताको फल बाँडेर
आँतको कुन्ठालाई गुन्ठामा बाँधेर
हातमा हात राखी, गोडाको मोहोडा एकै पारी 
टोपीले गम्छा नभनी, गम्छाले ग्यैजे नहेपी
पूर्वको भानु भै, दिव्य भएर उकालो लाग्नु छ । 
3-4-2019

No comments: