Tuesday, November 14, 2017

कथा : दास

कालो अनुहार , कालै शरीर, केहीमात्र तर फाटेका लुगा अनी त्यही च्यातिएको ठाउँबाट चिहाइ रहेका शरीरभरी यत्रतत्र घाऊका टाटाहरु-खाटाहरु, रसिला सेता आँखा, भद्दालाग्ने मोटा ओठ केही भन्न खोजेझैं प्रतित हुने तर चलयमान शून्य - यस्तै थियो त्यहाँको हालत । त्यहाँ यानकी लिबियाको राजधानी ट्राइपोलीको एउटा कुनामा रहेको एक सानो दुईतल्ले घरको तल्लो छिँडीमा कोचिएर गुन्द्रुक भएका आप्रवासीहरु हालत । उनिहरु गुन्द्रुककै झैं अमिलो भावका साथ हामीलाई हेर्दै थिए, झिनो आशाका त्यन्द्रो समाएर ।

बिभिन्न अफ्रिकी राज्यहरुबाट तस्करहरुको फुक्को आश्वासनको डोरी समाएर आफ्ना जिम्मेवारी र ढलपल जीवनको भारी बोकी आएका रहेछन् प्राय त्यहाँ भएकाहरु । हर आँखा, हर शरीर, हर मनले आफ्नो बेदना, क्रुर समय, नियतीको खेल हामी सामु कथा बनाएर पोख्न आतुर देखिन्थ्यो तर चुप नै थिए सबै - लाग्थ्यो कोही या केही अद्रिश्य शक्तीले ति आघातपूर्ण समयको बखान पोखिनबाट रोकिरहेको छ । एउटा ठिटो अलिक साहस गरेर बोल्न लागेको के थियो अर्कोले तानेर बस भन्यो र ऊ नबोली, नजर अर्को तिर फालेर पातलो तन्ना जस्तो ओछ्यानमा थ्याच्च बस्यो ।

कोठाको पल्लो छेउबाट एउटाले निहुरेरै ठूलो धोत्रो अनी भारी स्वरमा भन्यो , "के सोध्न चाहनुहुन्छ ? म भन्छु , यता आउनुस् ।"

हामी ऊ भएको ठाउँतिर गयौ र उस्ले हात अगाडि बडाएर भन्यो , "म महमाने हाहिजोउ, नाइजरबाट । के सोध्नुहुन्छ र के भन्नु ? यो हाम्रो - हरेकको शरीरभरी खाटा देख्नु भएको छ नि त्यो एउटै कारणले छ । त्यो हो - हामी बेचिएका हौं, चाकर बनाएर, दास बनाएर" । हाम्रो वाल्ल अनुहार अनी छक्क भावलाई समात्दै उस्ले थप्यो ,"मेरो मुल्य ८०० नाइजेरियन डलर थियो, मलाई बन्दर्गाहमा काम गर्न किनिएको थियो । हर दिन हर पल काममा जोतिनु, लात्तीले भकुरिनु, लठ्ठीले चुटिनु, खान नपाउनु, हातबाँधेर पछील्तिरबाट धारिलो बस्तु छिराइदिन खोज्नु जस्ता अचक्ली भए मसँग तर म बाँचे । यो मेरो नियती थियो या भाग्य , त्यहाँ अनगिन्ती ठिटाहरु दिनभरी घोटिन्छन् अनी रातमा मनोरन्जनकोलागी यसरीनै कुटिन्छन्, यातना दिएर हामीलाई किन्ने व्यापारीहरुले आफ्नो समय कटाउँछन् । कती यसरी किनिएका ठिटाहरु त्यहीँ देह त्याग गर्छन् र तिनका शवलाई बन्दर्गाह नजिकैको शमशानमा यस्सै गाडीन्छन् ।" उस्ले यती भनी रहँदा उस्का संबेग आँशु भएर काला गालामाथिबाट बगिरहेका थिए । हाम्रो आवाज कसैले घाँटीमै थुनी दिए सरी अड्केका थिए । आजको जमाना , २१ औं शताब्धीमा मान्छेको किन बेच हुन्छ भन्ने कुरा अझै हामी विश्वाश गर्न सकिरहेका थिएनौं ।

हाहिजोउ भन्दै थिए,"मेरो परिवार नाइजरको अर्लिटमा छ , म आप्रवासी भएर लिबियाबाट इटालीको माल्टा हुँदै ईउरोपका कुनै देशमा गएर काम गर्ने अनी आफ्नो परिवारलाई पाल्ने इच्छाले घरबाट हिँडेको थिएँ तर लिबिया पुगेपछी मलाई त्यहाँसम्म लग्छु भन्ने एजेन्टले अझै बढी पैसाको माग गर्‍यो । न मसँग केही थियो दिन बाँकी न घरमै केही बचेँको थियो । त्यस्पछी अजेन्टले मलाई एउटा कोठामा लगेर भरे आउँछु भनेर अन्तर्ध्यान भयो । बेलुकी त कोठाबाट एउटा बलियो गँठिलो मान्छेले मलाई तान्दै कोठा बाहिर लिएर आयो । त्यहाँ हामी जस्तालाई किन्ने महाजन बसेका थिए र मलाई बेच्न बोली लगाउँदै थिए । नाइजरको त्यो तातो हावा तातो बालुवा एक्कासी सप्पै मेरो दिमागमा कोचिदिएसरी भएको थियो मलाई त्यो बेला । मसँगै मेरा मेरा रहर, सपना, आशाहरु एक्कैसाथ चट्याङले जमिन छोएर अलप भए झै अलप भएका थिए । मलाई अगिनै भनें नि मलाई ८०० नाईजेरियन डलरमा किनेर लागेकै दिन देखी यातना दिन थाले । म कसै गरी एक रात एउटा अर्को केटोलाई गाढ्न जाँदा उमेर भागेर यस शिबिरमा आएँ र कहिले दिपोर्ट गर्लान भनेर कुरेर बसेको छु । तर कुरेकै पनि धेरै समय भैसक्यो । के तपाईं मलाई मद्दत गर्न सक्नु हुन्छ ?" उस्ले निराष र प्रश्नले भरिएको नजरले हेर्यो । मैले आश्वासन बाहेक केही दिन सकिन । केही दिन पछी उस्लाई मृत अवस्थामा त्यही शिविरको कुनामा भेटियो रे । कसैगरी उस्लाई किन्ने महाजनले पत्ता लगाएछ अनी मान्छे लगाएर उस्का भविष्यका आकङ्क्षालाई त्यहीँ निमिट्यान्न पारीदिएछ । उस्का परिवार अझै पनि ऊ परदेशमा घोटीईरहेको छ भन्ने ठान्दा हुन् , उस्की जाहान अझै पनि उस्को बाटो हेर्दी हो । यस्ता महमाने यस अफ्रिकामा सैयौँ गिँडिएका छन् , हजारौँ थुनिएका छन् , लाखौंँ प्रताडित छन् र अनगिन्ती दास बनेका छन् ।
 

No comments: