Sunday, October 28, 2018

कविता : यायावर

कविता : यायावर

सुर्य दूर क्षितिजको कुनौटोबाट
सुटुक्क भाग्दा-भग्दै मैले समातेर सोधें
"तिम्लाई जानी नजानी दिन भरी पोखिएको रापले,
गर्न नसकेका र हुननसकेका कर्मको खेदको तापले पोल्छ ?"
ओझेलिनु पूर्व निहुरेर
ओजस्वी भाव,
थकित तर कान्तीमय आँखाले
मेरो काँधमा हलुका किरणको स्पर्श गर्दै
भरिलो सौम्य आवाजमा उस्ले भन्यो
अनित्यताको बोध 
परिवर्तनशिलताको ज्ञान
समयको अटूट बहाव
अनी  कर्मको  कर्तव्यको सुरम्य
बगैँचामा आत्माबोधमा रमिरहेन म
तिम्रो प्रश्न र यावत प्रहसनमा झुम्न प्रहर नै पाउँदिन
चन्द्र म मा आश्रित छन् ,
सारा चराचर म मै आश्रित छन
तर म त आफैमा रमिरहने यायावर हुँ
आफैलाई खोज्दै हिँडेको एक यात्री
कहिले ब्रह्माण्डको यो कुनो हुन्छु
कही त्यो कुनो
देख्नेके जे देखुन
भन्नेले जे भनुन
म, म नै हुँ - एक यायावर ।

No comments: