Friday, October 5, 2018

कविता : भ्यागुताहरु

कविता : भ्यागुताहरु
~आविष्कार

म बुद्रुक्क उफ्रिन्छु
भ्यात्त पछारिन्छु
कहीँ पुग्दिन
"तँ कुवा बाहिर निस्कन सक्दैनस्"को
टड्कारसँगै
आफ्नो आत्मबोध
विबेक
निष्ठा
ट्यार्-ट्यार् को चितामा खरानी पार्छु
आफ्ना बिचारहरु,

सोंचहरु,
बुझाईहरु,
झोंकहरु
ट्यार्-ट्यार् को सङ्गीतमा बिलिन गर्दै
त्यस्को धुनमा मग्न हुन्छु
आफ्ना क्षमताहरु
कोशीषहरु
सिकहरु
अनुभवहरु
अनुभुतिहरु बिर्सेर
हारको उद्घोष गर्दै सोँच्छु
म कोही नभएको भए हुन्थ्यो
म केही नबनेको भए हुन्थ्यो
म बहिरो भएको भए हुन्थ्यो
तर
भ्यागुताहरु ट्यार्-ट्यार् गर्छन् 
गरिरहन्छन्
त्यहीँ आफू पनि ट्यार्-ट्यार् गर्न थाल्छु

म पनि भ्यागुता हुन्छु ।। 

No comments: